सिकाइको स्तर सुधार र उत्थानशील शिक्षाका लागि विश्व बैंकको रू. १ अर्ब २७ करोड सहयोग
काठमाडौं, २० भदौ । कोरोना संकटले प्रभावित नेपालको शैक्षिक क्षेत्रमा सिकाइको स्तर सुधार तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि विश्व बैंकले १ अर्ब २७ करोड (१ लाख २५ लाख डलर) अनुदान सहयोग गरेको छ । यसले आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
अर्थ मन्त्रालयमा शुक्रवार आयोजित एक कार्यक्रममा उक्त सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । ‘जीपीई कोभिड–१९ द्रुत कोष’अन्तर्गत प्राप्त भएको यस थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड–१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पु¥याउनेछ ।
‘विद्यालय क्षेत्र विकास कार्यकम’ मा विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एशोसिएशनको १८५ मिलियन डलर कर्जा सहायतासहित एशियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्यान्ड, ग्लोवल पार्टनरसिप फर एजुकेशन, जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआइडी, युनिसेफलगायतका निकायले सहयोग पु¥याइरहेका छन् ।
हस्ताक्षर समारोहमा सहसचिव नेपालले अनुदानका लागि हामी विश्व बैंक र जीपीईप्रति आभार व्यक्त गरे । उक्त सहयोगले कोभिडका कारण बालबालिकाको सिकाइमा भएको क्षतिको पूर्ति गर्न टेवा पु¥याउने उनको भनाइ छ । सहसचिव नेपालले भने, ‘अनुदानले चालू महाव्याधिका कारण विद्यालय बन्द रहेका अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनका लागि सरकारलाई आवश्यक सहयोग पु¥याउनेछ ।’
यस्तै माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले यस अनुदानले बालबालिकाका लागि खासगरी बालिकाका लागि शिक्षा र सिकाईमा सुरक्षित पहुँचको तत्काल आवश्यकतालाई सघाउने बताए । उक्त सहयोगले नेपालको शिक्षा क्षेत्रलाई पहिलेभन्दा राम्रो बनाउनुका साथै नेपाल सरकारले चालेका बृहद् उत्पादशील पुनर्लाभाका पहललाई बढावा दिने उनको भनाइ थियो ।