रिलायन्स लाइफको शेयर आजदेखि नेप्सेमा किनबेच
काठमाडौं, २३ भदौ । रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेडको शेयर आजदेखि नेप्सेमा किनबेच हुने भएको छ । कम्पनीले भदौं २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ करोड १० लाख कित्ता शेयर सूचीकृत गराएको छ । कम्पनीको ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको छ।
सोमबार नेप्सेमा शेयर सूचीकरण भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज दिएको छ ।
भदौ ४ देखि ८ गतेसम्म इन्स्योरेन्सले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आइपीओ) मध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।