विश्व जीडीपीमा एशिया–प्रशान्त क्षेत्रको योगदान ३४.९%, पछिल्लो २ दशकमा जीडीपी र निर्यात दुवै बढ्यो

काठमाडौं, २६ भदौ । विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा एशिया–प्रशान्त क्षेत्रको योगदान सबैभन्दा बढी ३४.९ प्रतिशत रहेको पाइएको छ । एशियाली विकास बैंक (एडीबी)ले बिहीवार प्रतिशित गरेको आफ्नो वार्षिक तथ्यांकीय प्रतिवेदन ‘की इन्डिकेटर्स फर एशिया एण्ड द प्यासिफिक २००२०’ एवं अनलाइन डाटाबेस ‘की इन्डिकेटर्स डाटाबेस’ यस्तो देखाएको हो ।
विश्व जीडीपीमा एशिया–प्रशान्त क्षेत्रको योगदान सन् २००० मा २६.३ प्रतिशत रहेकोमा सन् २०१९ मा आइपुग्दा बढेर ३४.९ प्रतिशत पुगेको छ, जुन ८.६ प्रतिशत बढी हो । की इन्डिकेटर्स २०२० ले एडीबीका क्षेत्रीय ४९ सदस्य मुलुकको सन् २००० देख २०१९ सम्मको दिगो विकास लक्ष्यसहित आर्थिक, वित्तीय, सामाजिक तथा वातावरणीय सूचकहरू विस्तृत रूपमा प्रस्तुत गरेको छ ।
‘एशिया र प्रशान्त क्षेत्रले पछिल्लो दुई दशकहरुमा बृहत् विकासको प्रगति गरेका छन्,’ एडीबीका मुख्य अर्थशास्त्री यासुयुकी रुवाडाले भनेका छन्, ‘जो विश्वव्यापी जीडीपीमा सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ र लाखौंलाई गरिबीबाट मुक्त गरेको छ ।’ सही समय र सही डाटाले उक्त प्रगतिको हिस्सेदार बन्न सक्षम बनाएको भन्दै उनले यसले थप सुधारका आवश्यकता बोध समेत गराएको उनको भनाइ छ । हालको कोरोना महामारीको बीचमा पनि डाटामा भएको व्यापक पहुँचले यस क्षेत्रको अधिक समावेशी र दिगो विकासमा योगदानका लागि मद्दत पुग्ने उनले बताएका छन् ।
की इन्डिकेटर्स २०२० ले विश्व लगानी र व्यापारमा एशिया प्रशान्त क्षेत्रको विस्तारित प्रभावमाथि समेत प्रकाश पारेको छ । सन् २०१९ मा यस षेत्रले कुल विश्वको कुल प्रत्यक्ष लगानीको एक तिहाइभन्दा बढी हिस्सा प्राप्त गरेको छ । पछिल्लो दुई दशकमा यस क्षेत्रको निर्यात समेत २८.४ प्रतिशतबाट बढेर ३६.५ प्रतिशत पुगेको छ । यद्यपि हालको कोभिड–१९ महामारी र लकडाउनका बेरोजगारी बढ्दो क्रममा रहेको र व्यवसाय घट्दै गएको प्रतिवेदनमा उल्लेख छ ।