पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६४ प्रतिशत सम्पन्न
पोखरा, २८ भदौ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको ४ महिना लामो लकडाउन र निषेधाज्ञाका बीच पनि काम भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६४ प्रतिशत सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिवार उक्त विमानस्थलको निरीक्षण गर्ने क्रममा निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले उक्त जानकारी दिएका हुन् । भौतिक पूर्वाधारतर्फ अधिकांश काम सम्पन्न भइसकेको भन्दै उनले अब उपकरण जडानलगायत काम बाँकी रहेको बताएका छन् ।
उनका अनुसार विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ ओटा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माणमा अहिले १८० चिनियाँ र ९० नेपाली कामदार खटिएका छन् ।
आवश्यक उपकरण जडानका लागि उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको आयोजना प्रमुख मुनाकर्मीले बताए ।
उक्त अवसरमा पर्यटनमन्त्री भट्टराईले विमानस्थल निर्माण निर्धारित समयमै सम्पन्न हुने बताए । विमानस्थललाई निर्धारित समयमै सम्पन्न गरी यसको सञ्चालन गराउने विषयमा सरकार लागिपरेको भन्दै उनले आवश्यक साधन स्रोत तथा जनशक्ति अभाव हुन नदिन सहजीकरण गरिने बताए ।
यस्तै विमानस्थल निर्माण आयोजना प्रमुख मुनकर्मीले कोरोना संक्रमणका कारण निर्माण कार्यको गतिमा केही प्रभाव परेका कारण तोकिएको मिति भन्दा ६ महीनाअगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा निर्माण सम्पन्न हुने बताएका थिए ।