यस वर्ष मुलुकमा धान उत्पादन करिब ४ प्रतिशत बढ्ने
काठमाडौं, २८ भदौ । अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा धानखेतीको क्षेत्रफल र रोपाइँ प्रतिशत दुवै बढेकाले धान उत्पादन समेत बढ्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यस वर्ष कुल १३ लाख ४९ हजार ४३१ हेक्टरमा धान रोपाइँँ भएको छ, जुन गत वर्षको भन्दा झण्डै ५४ हजार हेक्टर बढी हो ।
गत वर्ष मुलुकमा ५५ लाख ५० हजार ८७८ टन धान उत्पादन भएकोमा यस वर्ष मलखादको सहज व्यवस्था भएमा, रोगकीरा लगायत अन्य असर नपरेमा गत वर्षको भन्दा २ लाख टन अर्थात् ३.६१ प्रतिशत बढी धान उत्पादन हुने देखिएको छ । धानको उत्पादकत्व औसत ३.८० प्रतिहेक्टरलाई आधार मानेर उक्त अनुमान गरिएको हो ।
समयमै मनसुन शुरू भएको, कोरोना महामारीका कारण अधिकांश युवा गाउँ फर्किएर कृषिकर्ममा लागेको लगायत कारण यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो । यस वर्ष कुल धानखेती योग्य जमीनको तुलनामा रोपाइँ प्रतिशत पनि बढेको छ । यस वर्ष खेतीयोग्य जमिनमध्ये ९८.३८ प्रतिशतमा वर्षे धान रोपाइँँ भएको छ । गत वर्ष खेतीयोग्य जमिनमध्ये ९४.४३ प्रतिशतमा मात्र धान रोपाइँ भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार यस वर्ष उच्च पहाडमा ९८.५४ प्रतिशत, तराईमा ९८.५२ र मध्य पहाडमा ९७.९४ प्रतिशत क्षेत्रमा रोपाइँँ सम्पन्न भएको छ । यस्तै सूदुरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत, प्रदेश २ मा ९९.०२ प्रतिशत, प्रदेश ५ मा ९८.६६ प्रतिशत, कर्णालीमा ९८.५३ प्रतिशत, प्रदेश ३ मा ९७.८५ र प्रदेश १ मा ९५.८८ प्रतिशत क्षेत्रमा रोपाइँँ सम्पन्न भएको छ । सात प्रदेशमध्ये गण्डकीमा भने शतप्रतिशत रोपाइँँ सम्पन्न भएको छ ।