भाखा नाघेका कर्जाको असोजसम्म साँवा तथा ब्याज रकम भुक्तानी गरे एनआईसी एशियाले व्याजदर ८.९९ प्रतिशत कायम गर्ने
काठमाडौं, २ असोज । एनआईसी एशिया बैंक लिमिटेडले २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्तसम्म साँवा तथा व्याज भुक्तान गरेमा व्याजदर घटाउँने भएको छ । विसम परिस्थितिलाई मध्येनजर गर्दै बैंकले ग्राहको आर्थिक भारलाई कम गर्ने हेतुले कात्तिक १ गतेदेखि लागु हुने गरी उक्त योजना सार्वजनिक गरेको हो ।
ग्रहकले आश्विन मसान्तसम्मको साँवा तथा व्याज सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई कात्तिक १ गतेदेखि लागू हुनेगरी व्याजदर ८.९९ प्रतिशत कायम गरिने बैकले जनाएको छ ।
बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकको विश्वास छ ।
हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै अएको छ ।