Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

पुनर्निर्माण प्राधिकरणको म्याद २०७८ पुससम्म थप्न सिफारिश गरिने

पुनर्निर्माण प्राधिकरणको म्याद २०७८ पुससम्म थप्न सिफारिश गरिने

काठमाडौं, ६ असोज । भूकम्पपछिको पुननिर्माणका काम सम्पन्न गर्न पुनर्निर्माण प्राधिकरणको म्याद थप एक वर्ष थप्न सिफारिश गरिने भएको छ । प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले कोरोना महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायत महत्वपूर्ण संरचनाको पुनर्निर्माण सम्पन्न गर्न समय थप्ने सिफारिस गरेको जानकारी दिए।
उनका अनुसार, थपिएको अवधिमध्ये करिब साढे ६ महिना अर्थात् २०७८ असार मसान्तसम्म प्राधिकरणले हाल गर्दै आएका काम पूरा गर्नेछ। त्यसपछि बाँकी अवधिमा लेखापरीक्षण सकेर सरकारका विभिन्न निकाय तथा स्थानीय तहलाई बाँकी जिम्मेवारी र पुनर्निर्माणका दस्तावेज हस्तान्तरण गर्ने योजना रहेको ज्ञवालीले बताए।
प्राधिकरणको अवधि आउँदो पुस १० गते सकिँदै छ। भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ मा प्राधिकरणको कार्यावधि थपसम्बन्धी प्रावधानका आधारमा म्याद थपको सिफारिश गरिन लागेको हो । ‘प्राधिकरणको कार्यावधि पाँच वर्षको हुनेछ। कुनै कारणले सो अवधिमा पुनर्निर्माणको काम सम्पन्न नभए नेपाल सरकारले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न वा प्राधिकरणले गरी आएको यस ऐनबमोजिमको काम अन्य निकायले गर्ने गरी आवश्यक व्यवस्था गर्न सक्नेछ,’ उक्त दफामा उल्लेख छ ।
निर्देशक समितिको बैठकले पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी मौजुदा बजेट योजना परिमार्जन गरी ४ खर्ब ८८ अर्ब रुपैँयाको संशोधित बजेट र कार्यक्रम स्वीकृत गरेको ज्ञवालीले जानकारी दिए।
अब यही परिमार्जित बजेट तथा कार्यक्रमअन्तर्गत रहेर पुनर्निर्माणका चालू तथा बाँकी काम हुनेछन्। यसमा उल्लेख भएबाहेकका पुनर्निर्माण तथा पुनर्स्थापनासम्बन्धी काम विभिन्न तहगत सरकारलाई हस्तान्तरण गरिनेछ।
यसअघि २०७६ पुस २८ गते बसेको निर्देशक समितिको १६ औं बैठकद्वारा गठित कार्यदलबाट पेस भएको प्रतिवेदन सदर गर्दै समितिले प्राधिकरणको समय थप एवं बजेट कार्यक्रममा परिमार्जनको निर्णय गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x