विश्व बैंकद्वारा १७ अर्ब ६४ करोडका सहरी पूर्वाधारका परियोजना स्वीकृत
काठमाडौं, १३ असोज । विश्व बैंकले नेपालको सहरी पूर्वाधारका लागि १७ अर्ब ६४ करोड ऋण सहायता प्रदान गर्ने भएको छ । मंगलबार नेपालको सहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर अमेरिकी डलर बराबरका परियोजना स्वीकृत गरेको हो ।
विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित स्वीकृत यी परियोजना कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ । रोजगारी सिर्जनामा समेत परियोजनाको भूमिका रहने विश्वास गरिएको छ । विश्व बैंकका अनुसार यो सहायता पूर्वी तराई र पश्चिमका दुई प्रदेशमा केन्द्रीत हुनेछ ।
पूर्वी तराईका प्रदेश नं १ र २ का नगरपालिका तथा पश्चिममा गण्डकी प्रदेश र प्रदेश नं ५ का नगरपालिकाहरुमा परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।