बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातबाट मृत्यु
काठमाडौं, १३ फागुन । बलिउड अभिनेत्री श्रीदेवी कपुरको हृदयघातका कारण मृत्यु भएको छ । बलिउडकी बहुमुखी प्रतिभाशाली अभिनेत्रीको दुवईमा आफन्तको विवाह समारोहमा रहँदा हृदयघातका कारण निधन भएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । चर्चित अभिनेत्री श्रीदेवीले दक्षिण भारतबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेर विभिन्न भाषाका झण्डै सय चलचित्रमा अभिनय गरेकी थिइन् । सन् १९६३ अगस्टमा जन्मेकी श्रीदेवीले तामिल, तेलगु, हिन्दी, मलायम लगायत भाषाका चलचित्रहरुमा अभिनय गरेकी थिइन् । बलिउडमा दर्जनौं चलचित्र अभिनय गरेकी उनी विवाहपछि झण्डै १५ वर्ष अभिनय क्षेत्रबाट बाहिर रहीन् । लामो समयको अन्तरालपछि उनले सन् २०१२ मा अभिनय गरेको चलचित्र इंग्लिश भिंग्लिशका लागि भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानित गरेको थियो ।