नेपाल रेल्वेले थाल्यो जनकपुर–जयनगर रेलसेवा नियमित सञ्चालनको तयारी
काठमाडौं, २४ कात्तिक । जनकपुर–जयनगर रेलमार्गमा नियमित रेलसेवा सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महीना भारतबाट रेल आएसँगै नियमित सञ्चालनका लागि जनशक्ति व्यवस्थापन, कानून निर्माण, आवश्यक पूर्वाधार लगायतको तयारी भइरहेको छ । नेपाल रेल्वे कम्पनीका अनुसार कोरोना संक्रमणको अवस्था सहज हुनासाथ जनशक्ति व्यवस्थापन गरी सञ्चालनका लागि तयारी भइरहेको राससमा उल्लेख छ ।
सरकारले संक्रमण नियन्त्रणका लागि सीमामा आवतजावत रोकेकाले अन्तरदेशीय हाल रेल सेवा भने सञ्चालन गर्न नसकिने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईको भनाइ छ । तत्कालका लागि देशभित्रै मात्र पनि रेल सञ्चालन गर्न सकिने तर त्यसका लागि जनशक्तिको आवश्यकता बताइएको छ । कम्पनीका अनुसार आउँदो पुसको रामनवमी पर्वका अवसर त्यस क्षेत्रमा रेल सञ्चालन गर्नेेगरी छलफल भएको छ ।
रेल सञ्चालनका लागि प्राविधिक, प्रशासन, कानूनलगायत समूहबाट झण्डै डेढ सय कर्मचारी आवश्यक रहेको बताइएको छ । रेल चलाउने दक्ष जनशक्ति भने भारतीय हुनेछन् । नेपालमा रेल चलाउने दक्ष जनशक्ति नभएकाले भारतमा रेलमै पहिले काम गरेका अनुभवी कर्मचारीलाई केही वर्षका लागि ल्याउन लागिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा १ हजार २०० देखि १ हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले बताएको छ ।