हेटौंडा औद्योगिक क्षेत्रका ७७% उद्योग नापतौल अनुमतिपत्रविनै सञ्चालित, ऐनबमोजिम कारबाही गरिने
हेटौंडा, २४ कात्तिक । हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग गुणस्तर तथा नापतौल विभाग मातहतका निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्रविना नै सञ्चालनमा रहेको पाइएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका अनुसार उक्त औद्योगिक क्षेत्रमा १११ उद्योग रहेकोमा २५ वटाले मात्र आपूmले उत्पादन गरेको वस्तुको विक्रीवितरणका लागि नापतौल अनुमतिपत्र लिएको राससमा उल्लेख छ ।
कार्यालय प्रमुख शशिभूषण यादवका अनुसार कुनै पनि उद्योगहरूले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । उक्त प्रावधानको पालना नगरे कारबाही हुने बताइएको छ । कानूनी दायरामा नआउने उद्योगलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने उनको भनाइ छ । पटकपटक जानकारी गराउँदासमेत अटेर गरेकाले अनुगमन गरी कारबाहीस्वरूप जरीवाना तथा मुद्दा दायर गरिने उनले बताएका छन् ।
हेटौंडा औद्यौगिक क्षेत्रमा चाउचाउ, बिस्कुट खाद्यान्न, मैदा, दुग्धपदार्थ, खानेपानी मिनरल वाटर, साबुन, डिटरजेन्ट पाउडर, पेन्ट्स, निर्माण सामग्रीलगायत अन्य उद्योग सञ्चालमा रहेका छन् । बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन कार्य क्षेत्र रहेको उक्त क्षेत्रीय कार्यालयले चालू आर्थिक वर्षको कात्तिक १५ सम्ममा दुई दर्जन पेट्रोल पम्प तथा उद्योगको अनुगमन र निरीक्षण गरी नापतौल यन्त्रको जाँच तथा नवीकरण गरेको बताएको छ ।
त्यस्तै कार्यालयले हेटौंडामा डोर खटाई व्यावसायिक फर्महरूको नापतौल यन्त्रको दर्ता, नवीकरण, जाँच, जरीवाना र राजस्व संकलन शुरू गरेको छ । कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्यायको नेतृत्वमा आएको चार कर्मचारीसहितको टोलीले तीन दिनमा ६० व्यावसायिक फर्मको नापतौल यन्त्रको नवीकरण गरेको छ । तोकिएको समयमा नवीकरण नगराउने ४५ व्यावसायिक फर्मलाई जरीवाना र तीनओटा फर्मको नयाँ दर्ता भएको उपाध्यायले जानकारी दिए । प्रत्येक २ वर्षमा ढक तराजु र लिटर तथा डिजिटल इलेक्ट्रोनिक नापतौल यन्त्रको प्रमाणीकरण गराउनुपर्ने प्रावधान छ ।