Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

तीन महिनामा १ लाख ५५ हजारभन्दा बढीले लिए स्थायी लेखा नम्बर

तीन महिनामा १ लाख ५५ हजारभन्दा बढीले लिए स्थायी लेखा नम्बर

काठमाडौं, ७ मंसिर । चालू आवको पहिलो तीन महिनामा स्थायी लेखा नम्बर लिने १ लाख ५५ हजार ५४२ करदाता बढेका छन् । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३३ लाख ३७ हजार ४९२ रहेकोमा चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ३५ लाख ३३ हजार ३४ पुगेको छ, जुन ४ दशमलव ६६ प्रतिशत बढी हो ।
चालू आर्थिक वर्षको तीन महिनामा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता मात्रै ६० हजार २२४ थपिएका छन् । असार मसान्तसम्ममा यस्ता करदाताको संख्या १३ लाख ५८ हजार ९३४ रहेकोमा असोज मसान्तसम्ममा बढेर १४ लाख १९ हजार ६५८ पुगेको छ । यस्तै सो अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरू १ लाख ३३ हजार ८४० जना बढेका छन् । गत असार मसान्तसम्मका यस्ता करदाताको संख्या १९ लाख ७३ हजार ४५२ रहेकोमा असोज मसान्तसम्ममा उक्त संख्याले बढेर २१ लाख ७२ हजार ५२ जना पुगेका छन् ।
सोही अवधिमा भ्याट नम्बर लिने करदाता १० हजार ५२२ ले बढेका छन् । असार मसान्तसम्ममा यस्ता करदाताको संख्या २ लाख ५५ हजार ९६३ रहेकोमा त्यसपछिको तीन महिनामा थपिएर २ लाख ६६ हजार ४८५ पुगेका छन् । यस्तै अन्तःशुल्कतर्फका करदाता असार मसान्तसम्ममा ९४ हजार २५२ रहेकोमा असोज मसान्तसम्ममा ५ हजार ७९९ जना बढेका छन् ।
आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा स्थायी लेखा नम्बर लिने कुल करदाताको वृद्धि भने नकारात्मक देखिएको छ । गत आर्थिक वर्षका पहिलो तीन महिनामा व्यावसायिक तथा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७ लाख १५ हजार ९२३ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १ लाख ५५ हजार ५४२ जना मात्र बढेका छन्, जुन गत आवको तुलनामा ७२ दशमलव ७ प्रतिशत कम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *