चन्द्रागिरी हिल्सको आइपीओ आजदेखि बिक्री खुला
काठमाडौं, १७ मंसिर । चन्द्रागिरी हिल्सको आइपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८ सय १९ कित्ता आइपीओ जारी गरेको हो ।
चन्द्रागिरी हिल्सले १ सय अंकित मूल्यमा ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ , ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दा, मकवानपुरको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानीयले आवेदन दिन सक्ने छन् ।
आइपीओमा छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन दिनुपर्ने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।