Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सिलिगुडी–झापा क्रशबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना अघि बढाइँदै

सिलिगुडी–झापा क्रशबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना अघि बढाइँदै

काठमाडौं, १९ मंसिर । नेपाल आयल निगमले सिलिगुडी–झापा क्रशबोर्डर पेट्रोलियम पाइपलाइन परियोजनाको काम अघि बढाएको छ । क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्र्याउने तथा कम्तीमा तीन महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने सरकारको योजनालाई मूर्तरूप दिन पछिल्लो समय निगम लागिपरेको हो ।
निगमले यससँगै एलपीजी भण्डारण, बोटलिङ प्लाण्ट निर्माण तथा प्रदेश नं १ को मागलाई पूर्ति गर्न ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने परियोजनालाई समेत उच्च प्राथमिकतामा राखेको बताइएको छ ।
निगमको झापामा रहेको जग्गामा ४० हजार किलोलिटर क्षमताको भण्डारण र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन जोड्ने परियोजनाको खाका तयार भइसकेको निगमले बताएको छ । निगम तथा भारतीय आयल कर्पोरेसनबाट संयुक्त रूपमा पाइपलाइन सर्भे गर्ने काम सम्पन्न भइसकेको छ । राससका अनुसार संयुक्त सर्भे टोलीले पहिचान गरेका स्टकमध्ये उपयुक्त रूटको यकीन गर्ने कार्य निगमको प्राविधिक टोलीले सम्पन्न गरेको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिएका छन् ।
बिहीवार संसदीय टोलीले अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (सिलिगुडी–चारआली) तथा प्रदेश नं १ मा भण्डारण क्षमता विस्तारलगायत परियोजना कार्यान्वयका बारेमा जानकारी लिएको छ । सो क्रममा सिलगुडी–झापा क्रसबोर्डर पेट्रोलियम पाइपलाइन परियोजना गौरवको आयोजना भएकाले तोकिएको समयमै सम्पन्न गर्न आफूहरूले निर्देशन दिएको संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिएका छन् ।
प्राविधिक टोलीले सिलगुडीबाट झापासम्म पाइपलाइन निर्माण गर्न तीनवटा सम्भावित मार्गबारे अध्ययन गरेको थियो । यस्तै चारआलीमा निर्माण हुने करिब चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण तथा एलपी ग्यास बोटलिङ प्लाण्ट निर्माण गर्न अन्तर्राट्रिय परामर्शदाता नियुक्त भएर निर्माण शुरू गरिसकेको बताइएको छ । यस्तै निगमले भद्रपुर विमानस्थलमा साना एभिएसन परियोजनाअन्तर्गत अत्याधुनिक प्रविधियुक्त ६० हजार लिटर क्षमताका दुई भण्डारणयुक्त ट्यांकमार्फत रिफ्युलिङ प्रणाली निर्माण कार्य शुरू गरिसकेको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x