प्रथम त्रैमासमा ९० अर्ब तरलता प्रशोचन
काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल रू. ९० अर्ब तरलता प्रशोचन गरेको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले असोज मसान्तसम्ममा रिभर्स रिपोमार्फत रू. ६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत रू. ३० अर्ब प्रशोचन गरिएको छ ।
समीक्षा अवधिमा बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २४ करोड खुद खरिद गरी रू. १ खर्ब ४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ९० करोड २२ लाख खुद खरिद गरी रू. १ खर्ब २ अर्ब ६३ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ४.९ प्रतिशतले वृद्धि भई रू. ४० खर्ब २७ अर्ब ३७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन तीन प्रतिशतले वृद्धि भई रू. ३३ खर्ब ३१ अर्ब ५७ करोड पुगेको थियो । चालू आवको पहिलो ३ महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जा चार प्रतिशतले वृद्धि भई रू. ३३ खर्ब ३९ अर्ब ६६ करोड पुगेको छ ।