थप १३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुँदै

काठमाडौं, २४ मंसिर । मुलुकका थप १३ वटा स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षमा १३० वटा औद्योगिक ग्राम घोषणा गर्ने नीतिअनुसार प्रक्रिया पूरा गरेका उक्त स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको प्रस्ताव सरकारले स्वीकृत गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरका बेलका नगरपालिका र रौतामाई गाउँपालिका, तेह्रथुमको म्याङलुङ गाउँपालिका, बागमती प्रदेशको नुवाकोटको विदुर नगरपालिका, कर्णाली प्रदेश जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका र चौकुने गाउँपालिका, गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका, तनहुँको भानु नगरपालिका, नवलपुल परासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका, मनाङको चामे गाउँपालिका, पर्वतको कुस्मा नगरपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएका छन् । त्यस्तै सुदूरपश्चिम प्रदेश बैतडीको पञ्चेश्वर गाउँपालिकामा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।
प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीतिअनुसार गत वर्षदेखि औद्योगिक ग्राम घोषणा गरिँदै आएको छ ।
मन्त्रालयले औद्योगिक ग्रामको घोषणा गर्ने, वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने, अनुगमन, मूल्यांकन, समन्वय तथा नियमनसम्बन्धी कार्य गर्दछ । प्रदेश मन्त्रालयले औद्योगिक ग्रामका लागि सिफारिस गर्ने, सार्वजनिक पूर्वाधार निर्माणमा पूर्ण वा आंशिक सहयोग गर्ने, वित्तीय तथा प्राविधिक सहयोग, अनुगमन तथा समन्वयसम्बन्धी काम र स्थानीय तहले जग्गा छनोट गर्ने, पूर्वसम्भाव्यता अध्ययन गराउने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने, सञ्चालन, व्यवस्थापन, नियन्त्रण, अनुगमन र समन्वयको काम गर्नेछ ।