मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन : एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरू

वीरगञ्ज, २६ मंसिर । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट अगामी १ वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरू गरिएको छ । उक्त पाइपलाइनबाट हाल डिजेल मात्र आपूर्ति भइरहेकोमा पेट्रोल समेत ल्याउन नेपाल आयल निगमको सञ्चालक समितिले स्वीकृति दिएसँगै काम अगाडि बढाइएको निगम प्रदेश २ को प्रादेशिक कार्यालय अमलेखगञ्जले बताएको छ ।
यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजेल ल्याउन थालिएको थियो । अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउन गृहकार्य शुरु गरिएको राससमा उल्लेख छ ।
निगम प्रादेशकि कार्यालय प्रमुख भरत रेग्मीका अनुसार ४२ लाख लिटर पेट्रोल भण्डारण गर्ने क्षमताको दुईवटा पेट्रोल ट्याङ्की अमलेखगञ्ज डिपोमा तयार भइरहेको छ । ट्याङ्की निर्माण भएपछि एकपटकमा २४ ट्याङ्करमा स्वचालित उपकरणबाट तेल हाल्न सकिनेछ ।
पाइपलाइनमा पेट्रोल ल्याउन मोतिहारीतर्फ काम सम्पन्न भइसकेको बताइएको छ । भारतीय आयल कर्पोरेशन लिमिटेडले मोतिहारीमा भर्टिकल ट्याङ्क निर्माण शुरु गरेको छ । यसैगरी अमलेखगञ्जस्थित निगमको कार्यालयले पेट्रोल आपूर्ति गर्न आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाएको छ ।
पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ढुवानी खर्चमा बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य, प्रदूषण तथा वातावरणमा हुने क्षतिको अन्त्य, भन्सार नाकामा हुने ट्याङ्करको चापसमेत अन्त्य र पेट्रोलको अभाव पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।