रावा बैंक र महालक्ष्मी नपाबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता
काठमाडौं, १ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधवार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि नगरपालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेगरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम रहेकोले कार्यान्वनयमा चुनौती थपिएको बताए । नगर प्रमुख रामेश्वर श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनीकरण हुने बताए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।