Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

१६० मेगावाटको लाप्चेखोला आयोजनामा लगानी जुट्यो, २०७९ साउनसम्ममा उत्पादन शुरू हुने

१६० मेगावाटको लाप्चेखोला आयोजनामा लगानी जुट्यो, २०७९ साउनसम्ममा उत्पादन शुरू हुने

काठमाडौं, ८ पुस । दोलखामा आयोजनास्थल रहेको कुल १६० मेगावाट क्षमताको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि लगानीको स्रोत जुटेको छ । निजीक्षेत्रबाट लगानी हुन लागेको हालसम्मकै ठूलो आयोजनामा नेपालको व्यावसायिक घराना दुगड समूहले लगानी गर्न लागेको हो ।
आयोजना निर्माणमा लागि दुगड समूहले नासा हाइड्रोपावर प्रालिमार्फत काम अगाडि बढाएको छ । आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुन लागेको छ । आयोजनामा कुल २६ अर्ब २० करोड रुपैयाँ लगानी हुनेछ । आयोजनामा सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको अगुवाइमा विभिन्न नौ बैंक तथा वित्तीय संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।
सहवित्तीयकरण गरेर उनीहरूले रू. १९ अर्ब ६५ करोड लगानी गर्नेसम्बन्धी बहुपक्षीय सम्झौतामा मंगलवार हस्ताक्षर गरेका हुन् । सम्झौतामा लगानीकर्ता रहेको नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतीलाल दुगड तथा बैंकहरूका तर्फबाट नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
आयोजनामा नेपाल बैंकले पाँच अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब ५० करोड, कर्मचारी सञ्चय कोषले दुई अर्ब, राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब, हिमालयन बैंकले दुई अर्ब, लक्ष्मी बैंकले एक अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकले एक अर्ब, बैंक अफ काठमाडौँले एक अर्ब तथा कृषि विकास बैंकले एक अर्ब गरी कुल १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएका छन् ।
नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यस आयोजनाले २०७९ साउनसम्ममा व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x