जनकपुर–जयनगर रेलमार्ग माघ महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं, १३ पुस । जनकपुर–जयनगर रेलमार्ग आगामी माघ महिनाभित्र सञ्चालनको तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएको राससमा उल्लेख छ ।
आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताएका छन् ।
रेल्वे कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायी रूपमा नियुक्त गरिने बताइएको छ । कम्पनीले रेल चलाउने दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ ।
रेल सञ्चालनका लागि अहिले तत्काल नेपालमा रेलसम्बन्धी कानूनकोसमेत अभाव भए पनि त्यसमा समेत कसरी अघि बढ्ने भनी मन्त्रालय र कम्पनीबीच छलफल भइरहेको बताइएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले बताएको छ ।