ग्लोबल आइएमई बैंक १४औं वर्षमा प्रवेश, प्राथमिक पूँजी २७ अर्ब पुग्यो
काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड आज (शनिवार)देखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ ।
बैंकको हाल चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ (प्रस्तावित १४ प्रतिशत बोनस पश्चात् करिब २१ अर्बभन्दा बढी) र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जानकारी दिएको छ ।
त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकल ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ काउण्टर सहित, २३ राजस्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत दिँदै आएको छ ।
बैंकको १४औं वार्षिक उत्सवको अवसरमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको उल्लेख गरे । यस्तै मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको भन्दै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बनाउने विश्वास व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका ढकालले महामारीको समयमा व्यवसाय र व्यवसायीलाई विभिन्न किसिमका सहुलियत र छुट दिँदै बैंक व्यवसायीहरुको संकटको सारथी बनेको बताए ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विभिन्न मर्जर तथा एक्विजिशनपछि अहिले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट, सबल र मजबुद बैंक बनेको बताए । मर्जर र मर्जरपछिको व्यवस्थापनमा बैंक व्यवस्थापन केन्द्रित रहेको भन्दै उनले अबका दिनमा बैंकलाई उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्ने बताए ।