Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मेलम्ची खानेपानी आयोजना : सुरुङ सुधारको काम ९९ प्रतिशत सम्पन्न

मेलम्ची खानेपानी आयोजना : सुरुङ सुधारको काम ९९ प्रतिशत सम्पन्न

सिन्धुपाल्चोक, १९ पुस । गत असारमा समस्या देखिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुधारको काम ९९ प्रतिशत सम्पन्न भएको छ । कतिपय प्राविधिक काम बाँकी रहेकाले ती सबै सकेर आउँदो चैतसम्ममा पानी काठमाडौं ल्याइने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिएको राससमा उल्लेख छ ।
जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी छ । प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ । पानी राखेपछि पनि दुई महीना लाग्ने र सबै पक्षमा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय लाग्ने सूचना अधिकारी पन्तको भनाइ छ ।
गत असारमा फुटेका दुईओटा ढोका भारतीय कम्पनीबाट जडान भइसकेको हुँदा सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ । हेलम्बुको अम्बाथानस्थित मुहानमा बाँधको काम भने ९० प्रतिशत मात्र सम्पन्न भएको छ । बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले बताएको छ ।
आयोजनाको जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ । दैनिक १७ करोड लिटर पानी राजधानी पु¥याइने उक्त आयोजना पटकपटक पछि धकेलिँदै विभिन्न व्यवधान पार गरी अब भने सम्पन्नको अन्तिम चरणमा पुगेको छ । आयोजनाको दोस्रो चरणको दैनिक १७ करोड लिटरको लार्केको काम पनि अघि बढाइएको आयोजनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x