मेलम्चीको पानी वितरणका लागि योजना तयार
काठमाडौं, २१ पुस । मेलम्चीको पानी आएपछि प्रभावकारी ढंगले वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले योजना तयार गरेको छ । पानी काठमाडौंमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरणका लागि योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले बताएको राससमा उल्लेख छ ।
यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरिएको र के कसरी समाधान गर्ने भन्ने तयारी अघि बढाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको भनाइ छ । उनका अनुसार खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् । उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौं वर्ष पुरानो भएकाले चुहावट बढी हुन सक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरीद अघि बढाइएको उनले जानकारी दिए । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ ।
पानी मर्मतको क्रममा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । केयूकेएलले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुन नदिन समेत तयारी अघि बढाएको छ । गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो । अहिले पनि पुरानो पाइपमा चुहावट खोज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले बताएको छ । अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरू ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा बसिएको उनको भनाइ छ । पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुन सक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ ।