प्रादेशिक हवाई उडानलाई विकेन्द्रीकरण गरिन्छ : मन्त्री ढकाल

काठमाडौं, २५ पुस । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज विराटनगरमा आयोजित पर्यटन व्यवसायीका समस्या एवम् छलफल कार्यक्रममा उनले त्यसका लागि आवश्यक नीतिगत निर्णय गरि पहल गर्ने बताएका हुन ।
कार्यक्रममा मन्त्री ढकालले कोभिड महामारीले पर्यटन व्यवसायी धरासायी भएको सम्बन्धमा अवगत भएको बताउँदै उनीहरुलाई दुःख र अप्ठ्याराको समयमा अभिभावक छ भन्ने अनुभूति गराई सकारात्मक ढंगले समस्या समाधानमा प्रयत्न गर्ने विश्वास दिलाए ।
कार्यक्रममा सो क्षेत्रका व्यवसायीहरुले भारतीय पर्यटकको आवागमनका लागि व्यवस्थितरुपमा सिमा खोल्नुपर्ने, प्रादेशिक र छिमेकी राष्ट्रमा एटिआर विमानबाट उडान सञ्चालन गर्नुपर्ने लगायतका मागहरु राखेका थिए ।