कोरोनाले संकटमा परेको व्यवसाय चलायमान बनाउन सरकारबाट प्रभावकारी काम नभएको व्यवसायीको गुनासो

काठमाडौं, २६ पुस । प्रदेश पाँचका उद्योगी व्यवसायीले कोरोना संक्रमणबाट थला परेको उद्योग व्यवसायलाई चलायमान बनाउन सरकारबाट प्रभावकारी काम हुन नसकेको गुनासो गरेका छन् । पछिल्लो समय संसद विघटन पछि मुलुकमा राजनीतिक अस्थिरता हुन सक्ने आशंका व्यक्त गर्दै यसले स्थिरता खोजिरहेको निजी क्षेत्रमा नकारात्मक प्रभाव पर्ने बताए ।
शनिबार रुपन्देहीको भैरहवामा भएको नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा सबैजसो उद्योगी व्यवसायीले सरकारप्रति गुनासो गरेका छन् । मुलुक संघीयतामा गएपछि सरकारपिच्छे फरकफरक नीति हुनु, उद्योग व्यवसाय संचालनको वातावरण नबन्नु, चर्को करले व्यवसायी मर्कामा परेको उद्योगी व्यवसायीले बताएका छन् । उद्योगी व्यवसायीले विकास खर्च न्यून हुँदा पूर्वाधार विकासमा समस्या भएको समेत जनाए ।
यस्तै उद्योगी व्यवसायीले लुम्बिनी प्रदेश उद्योग व्यवसाय संचालनका लागि महत्वपूर्ण क्षेत्र भएको जनाउँदै नीतिगत र केही व्यवहारिक कुराहरुमा राज्यले सुधार गरे ठूला लगानीकर्ताहरु आकर्षित हुने बताए ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारको कृषि क्षेत्रको पुनःउत्थानका लागि लागि परेको र साना तथा मझौला उद्योगलाई कृषि क्षेत्रसँग जोडेर काम गरिने जनाए । व्यवसायीले उठाएका माग सकारात्मक भएको भन्दै उनले प्रदेश सरकारले खानी उत्खनन्, १ अर्बसम्म लगानी भएका उद्योग स्थापना हुने ठाउँमा विद्युत्, पानी सडगमार्ग बनाउने नीति लिएको बताए ।