‘केटू’ हिमाल आरोहण गरी कीर्तिमानी कायम गरेका १० आरोहीलाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं, १३ माघ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ कीर्तिमानी कायम गरेका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन् । निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।
उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६ सय ११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जा सहित मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागि थिए ।
उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ लगायत पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिनेछ ।