सहज बनाइँदै बाह्य पर्यटक आगमन
काठमाडौं, १७ माघ । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बाह्य पर्यटक आगमन सहज बनाइने भएको छ । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरोकारवालासँगको समन्वयमा रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् ।
महामारीबाट प्रभावित पर्यटन क्षेत्रको प्रवद्र्धनका कार्यक्रम सञ्चालन लगायत विषयमा मन्त्रालयमा शुक्रवार आयोजित पत्रकारहरूसँगको अन्तरक्रियामा मन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताएको राससमा उल्लेख छ । पर्यटन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधि अघि बढाउन मन्त्रालयले पञ्चवर्षीय योजना तथा आवधिक रूपमा सरकारको नीति तथा कार्यक्रममा परेका विषय सम्बोधन गरिनुका साथै १० वर्षे योजनामा समेत पर्यटनका विषयलाई समेटिने उनको भनाइ छ ।
विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाउने मन्त्री ढकालले बताए । यस्तै हाल ७२ घण्टे पिसीआर रिपोर्टका साथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भनी व्यवसायीले गुनासो गरिरहेकोमा पर्यटन मन्त्रालयले उक्त मापदण्ड खुकुलो बनाउने भएको छ । पिसीआर नेगेटिभ रिपोर्टले निर्बाध घुम्न पाउने र खोप लगाएर आएको विदेशीले सहजै नेपाल भ्रमण गर्न सक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिएको र छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी उनले दिए ।