देशकै सबैभन्दा ठूलो क्षमताको सबस्टेशन तयार, सोमवार उद्घाटन गरिँदै
काठमाडौं, १८ माघ । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उक्त सबस्टेशनको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत् प्रसारण गर्न सक्दछन् ।
सो सबस्टेशन हाल सञ्चालनमा रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो हो । सबस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरिसकिएको छ ।
सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिनेछ ।
कुल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिने र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।