रुरु जलविद्युतलाई प्रिमियम मूल्यमा शेयर जारी गर्न धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं, २४ माघ । नेपाल धितोपत्र बोर्डले रुरु जलविद्युत परियोजना लिमिटेडलाई सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । गत असार २५ गते बोर्डमा आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको भएपनि बोर्डले माघ २१ गते उक्त आइपीओ निष्कासनका लागि अनुपति दिएको हो । अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावितहरुका लागि रु. १०० अंकित मूल्यमा नै आईपीओ निष्कासन गर्ने छ भने सर्वसाधारणका लागि जारी गरिने आईपीओका लागि प्रतिकित्ता १२० रुपैयाँ मूल्य पर्नेछ ।
कम्पनीले माघ २१ गते प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्नेछ । स्थानीयलाई शेयर जारीपछि दोस्रो चरणमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।