सुदूरपश्चिममा बढ्दै वित्तीय कारोबार : ९० अर्ब ८७ करोड निक्षेप संकलन, ९३ अर्ब ४५ करोड ऋण लगानी
धनगढी, २५ माघ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार बढ्दै गएको छ । प्रदेशको एक स्थानीय तहबाहेक बाँकी सबै (८७ स्थानीय तह)मा वाणिज्य बैंकको शाखा पुगेका छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारले प्रदेशमा निक्षेप संकलनका साथै ऋण लगानी बढ्दै गएको नेपाल राष्ट्र बैंक, धनगढीले बताएको छ ।
प्रदेश सरकार गठन भएको तीन वर्षमा सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाका ७२९ शाखा स्थापना भएका छन् । प्रदेशमा वित्तीय कारोबार गर्दै आएका ७२९ बैंक तथा वित्तीय संस्थाले कुल ९० अर्ब ८७ करोड निक्षेप संकलन र ९३ अर्ब ४५ करोड ऋण लगानी गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । ३ वर्ष अघिसम्म प्रदेशका ३४ स्थानीय तहमा मात्र वाणिज्य बैंक पुगेका थिए ।
बैंक शाखा पुग्न बाँकी स्थानीय तहमा समेत केही समयभित्रै बैंकिङ पहुँच पु¥याउन पहिल भइरहेको राष्ट्र बैंकले बताएको छ । सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले संघीय सरकार, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूबीच वित्तीय पहुँच बढाउन भएको सहमति अनुसार प्रदेशका ८७ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेको बताए । ग्रामीण भेगसम्म बैंक तथा वित्तीय पहुँच बढेकाले प्रदेशको अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको उनको भनाइ छ ।