परराष्ट्रमन्त्री ज्ञवाली र एनआरएनएका अध्यक्ष पन्तबीच विशेष भेटघाट सम्पन्न
काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तबीच विशेष भेटघाट सम्पन्न भएको छ । सो अवसरमा संघका गतिविधिबारे छलफल भयो । अध्यक्ष पन्तले संघले परराष्ट्र मन्त्रालयको अनुमति लिई सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मतिले संघको विधान तथा आव २०७४–७५ र २०७५–७६ को आर्थिक प्रतिवेदन अनुमोदन भएको जानकारी गराए ।
विशेष महाधिवेशनले विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गराई आगामी दिनमा पनि एक ढिक्का भई अघि बढ्न थप प्रोत्साहित गरेको अध्यक्ष पन्तले बताए । विशेष महाधिवेशनमा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीहरुले सहज, सरल र उत्साहपूर्वक भाग लिएको भन्दै अध्यक्ष पन्तले आगामी दिनमा गरिने महाधिवेशनलाई पनि भर्चुअल (अनलाइन) माध्यमबाटै गर्ने योजना बनाएको जानकारी गराए ।