४.२७ प्रतिशतले बढ्यो खाद्य तथा पेयपदार्थको मूल्य
काठमाडौं, २८ माघ । चालू आर्थिक वर्षको पुस महिनामा मुलुकमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि ४.२७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि भने २.९९ प्रतिशत रहेको छ ।
गतवर्षको पुसकोे तुलनामा २०७७ पुसमा घ्यू तथा तेल, फलफूल, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमुहको मूल्यवृद्धि क्रमशः १७.०१ प्रतिशत, १६.५८ प्रतिशत, ११.४८ प्रतिशत र १०.६८ प्रतिशत रहेको छ ।
सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति भने ३.५६ प्रतिशत रहेको छ । गतवर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.५५ प्रतिशत, तराईमा २.८७ प्रतिशत, पहाडमा ४.७२ प्रतिशत र हिमालमा ३.३८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ पुसमा यी क्षेत्रहरूमा क्रमशः ७.२४ प्रतिशत, ७.४६ प्रतिशत, ५.३९ प्रतिशत र ५.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो
२०७७ पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१८ प्रतिशत रहेको छ । गतवर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.२८ प्रतिशत, ६.६५ प्रतिशत र ३.२० प्रतिशत रहेको छ ।