कोरोनाको खोप उद्योगी व्यवसायीलाई पनि लगाउन महासंघको आग्रह
काठमाडौं, २९ माघ । नेपाल उद्योग वाणिज्य महासंघले कोेरोनाको कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोना विरुद्धको खोप अभियानमा सहभागी गराउन सरकारसँग माग गरेको छ । महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल सहित समितिका सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठी समक्ष भेटी उक्त माग गरेको हो ।
भेटवार्तामा सभापति ढकालले तत्कालका लागि उद्योगी व्यवसायीका लागि ५ हजार डोज खोप उपलब्ध गराउन अनुरोध गरे । कोरोनाका कारण निजी क्षेत्रपनि आक्रान्त भैरहेकाले महासंघसंग आवद्ध जिल्ला नगर, बस्तुगत तथा एशोसिएट्स सदस्यहरुका लागि सरकारले तत्कालै ५ हजार डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने उनले बताए । साथै सभापति ढकालले सरकारले ल्याएर उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन नसकेको खण्डमा उक्त खोप निजी क्षेत्रलाई नै ल्याउन दिन समेत माग गरे ।
कार्यक्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा ल्याएको प्राथमिकताको क्रममा दिन शुरु गरिएकोले दोस्रो चरणको खोप आयात पछि उद्योगी व्यवसीहरूलाई प्राथमिकतामा राखिने बताए । निजी क्षेत्रलाई कोरोनाको खोप आयात गर्न दिने विषयमा समेत सकारात्मक आश्वासन दिए ।