२२ मेगावाटको माथिल्लो चाकुखोला ‘ए’ले यसै हप्ता उत्पादन थाल्ने
सिन्धुपाल्चोक, ७ फागुन । माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाले यसै हप्ता परीक्षण उत्पादन शुरू गर्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा निर्मित २२ दशमलव २ मेगावाट क्षमताको उक्त आयोजनाको शतप्रतिशत काम सकिएर परीक्षण उत्पादन शुरू गर्न लागिएको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले बताएको छ ।
दुई–तीन दिनभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडेर परीक्षण तथा नियमित उत्पादन थाल्ने कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । आयोजनाको आन्तरिक प्राविधिकबाट सम्पूर्ण परीक्षण सफल भइसकेकाले नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिसहित अन्तिम परीक्षणको तयारी भएको उनले बताए ।
आयोजनाबाट एक साता परीक्षण उत्पादन र १५ दिनपछि व्यावसायिक उत्पादन हुने कम्पनीले बताएको छ । तत्काल भने ८ मेगावाट मात्र विद्युत् उत्पादन हुनेछ ।
२०७५ साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गर्ने लक्ष्य रहे पनि जुरे पहिरो, भूकम्प, भोटेकोशी बाढी र पछिल्लो समय कोभिडका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ ।
उक्त आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा विभिन्न १२ बैंक तथा वित्तीय संस्थाले २० अर्ब लगानी गरेका छन् । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई २० प्रतिशत शेयर वितरण गरिएको आयोजनामा निजीक्षेत्रको १ अर्ब ४७ करोड लगानी रहेको कार्यकारी अध्यक्ष बच्चु पौडेलले जानकारी दिए ।