राष्ट्रिय ऊर्जा प्रणालीमा निजीक्षेत्रको योगदान ७४० मेगावाट
काठमाडौं, २१ फागुन । मुलुकको राष्ट्रिय ऊर्जा प्रणालीमा निजीक्षेत्रको योगदान करिब ७४० मेगावाट रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बताएको छ । इप्पानद्वारा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष आशिष गर्गले हाल देशको प्रणालीमा निजीक्षेत्रले ७३९ दशमलव ५ मेगावाट बिजुली उपलब्ध गराएको जानकारी दिएका हुन् ।
यसतै पछिल्लो तीन वर्षमा मात्रै निजीक्षेत्रले ३७० मेगावाट बिजुली थप गरेको, ३ हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माणमा रहेको र २ हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणमा जाने तयारीमा रहेको इप्पानले बताएको छ ।
कार्यक्रममा इप्पानले नेपालमा खपत गरेर बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्रीका लागि निजी क्षेत्रलाई समेत अनुमति दिन सरकारसँग माग गरेको छ । नेपालको बिजुली बिक्रीका लागि आवश्यक पर्ने नीति शीघ्र तय गर्न र कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्न समेत संस्थाले आग्रह गरेको छ । भारत सरकारकातर्फबाट त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणले यही फागुन १४ गते जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार कार्यविधिले बिजुली व्यापारका लागि सहज भएको इपानको भनाइ छ ।
नेपालभित्र उत्पादन भएको विद्युत् सरकारी तथा निजी क्षेत्रबाट भारतीय बजारसम्म लैजान मार्गप्रशस्त भएकाले त्यस्तो अवसरको सदुपयोग गर्नुपर्नेमा निजीक्षेत्रका ऊर्जा उत्पादकहरूले बताएका छन् । इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालको विद्युत्लाई भारतीय बजारमा प्रतिस्पर्धी बनाउन कानूनी तथा प्राविधिकरुपमा तयारी गर्नुपर्ने र आवश्यक कठिनाइको तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।