मिस्ट्रीखोला आयोजनाले यसै हप्तादेखि उत्पादन शुरू गर्ने
म्याग्दी, १ चैत । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन शुरू गर्ने भएको छ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो । आयोजनाका परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सकेर विद्युत् उत्पादनको तयारी गरेको जानकारी दिएको राससमा उल्लेख छ ।
विद्युतगृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । इञ्जिनीयर खड्काले अबको एक हप्तादेखि १० दिनभित्र मिस्ट्रीखोलाले उत्पादन शुरु गर्ने बताए । सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दीखोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ ।
बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ ।
मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण गरिएका र निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत प्रसारण लाइन निर्माण सकिएको छ ।