पूर्वाधार र उत्पादनशील क्षेत्रमा कोषको लगानी आवश्यक
काठमाडौं, ५ चैत । पूर्वाधार र उत्पादनशील क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । नागरिक लगानी कोषको ३१औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशीलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका हुन् ।
कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म कोषले संचालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३ अर्ब ३० करोड रुपैया लगानी गरेको बताए । उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा उनले जोड दिए ।
कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए । कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर संचालनमा ल्याइसकेको जानकारी उनले दिए ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कोषले कुल लगानीको ६÷७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०÷१२ प्रतिशत सम्म पु¥याउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा कोषले संचालन कार्यक्रमहरुमा कर्मचारी बचत वृद्धि अबकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानी कर्ता हिसाव योजना, निजामती बिमा कोष, शिक्षक बिमा कोष, सैनिक बिमा कोष, नार्क बिमा कोष, नेपाल प्रहरी बिमा कोष, सशस्त्र प्रहरी बिमा कोष,राष्ट्रिय अनुसन्धान बिमा कोष तथा नागरिक पेन्सन योजना लगायतका बारेमा जानकारी दिइएको थियो ।