विश्वकै धनीमा फेरी पनि अमेजनका मालिक बेजोस
काठमाडौं, २५ चैत । विश्वकै अर्बपतिमा अमेजन मालिक जेफ बेजोस घोषित भएका छन् । गतवर्ष पनि उनी पहिलो स्थानमै थिए । यस वर्ष बेजोसको कूल धन एक सय ७७ अर्ब अमेरिकी डलर पुगेको छ ।
टेस्ला कम्पनीका प्रमुख इलोन मस्क धनाढ्यहरु सूचीको दोस्रो स्थानमा छन् । मस्कको सम्पत्ति एक सय ५१ बिलियन डलर छ ।
यस्तै सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । चौथोमा माइक्रोसफ्ट मालिक बिल गेट्स भने पाँचौंमा फेसबुक संस्थापक मार्क जुकरबर्ग छन् ।
छैठौंमा वारेन बफेट, सातौंमा ल्यारी एलिसन , आठौंमा गुगल मालिक ल्यारी पेज छन् । फोर्ब्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरूमध्ये २ सय १० जना चीन र हङकङका छन् ।
यस्तै फोर्ब्सको अर्बपति सूचीमा रहेका एक मात्र नेपाली उद्योगपति विनोद चौधरीको सम्पत्ति यसपटक घटेर दुई हजार एक सय ४१ औं स्थानमा छन् । यसअघि उनको स्थान एक हजार पाँच सय १३ मा थियो ।