माथिल्लो तामाकोशी आयोजना अन्तिम चरणमा
काठमाडौं, २६ चैत । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।
माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाखको दोस्रो साताभित्रमा सम्पन्न गर्ने लट–२ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।
मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७६÷७६ मेगावाटका छ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।