ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको माग
काठमाडौं, २९ चैत । सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघले ध्यानाकर्षण गरेको छ । लहान स्थित अमिता ज्वेलर्सका संचालक ४० बर्षिय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको पाइएको भन्दै व्यसायीको सुरक्षामा खतरा उत्पन्न भएको बताइएको छ । यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायीलाई त्रसित र भयभित बनाएको महासंले जनाएको छ ।
सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् । त्यसक्रममा उनकी श्रीमति अमिता विश्वकर्मा पनि घाइते भएकी छन् । लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका हुन् ।
व्यवसायीले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरिएको छ । दोषिलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको ब्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न व्यवसायीको माग छ ।