वर्षको अन्तिम दिन ऐतिहासिक बिन्दुमा नेप्से परिसूचक
काठमाडौं, ३१ चैत । २०७७ सालको बिदाइको दिनसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एतिहासिक विन्दुमा पुगेर बन्द भएको छ । वर्षको अन्तिम दिन मंगलवार नेप्से परिसूचक २७१४.७९ विन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन २३.२३ अंकले परिसूचक वृद्धि भएको छ । गत कारोबार दिन परिसूचक २६९१.५५ विन्दुमा पुगेर बन्द भएको थियो ।
मंगलवार २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नबिल बैंक लिमिटेडको भएको छ । यो बैंकको २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । उक्त बैंकको शेयर मूल्य १ हजार ३८० रुपैयाँ कायम भएको छ ।
यस दिन ५ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ, जसमा सर्वाधिक शेयर मूल्य वृद्धि हुनेको पहिलो सूचीमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । उक्त लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएर १ हजार ६९९ रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि हुनेमा माउन्टेन इनर्जी नेपाल लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स लिमिटेड, सिन्धु विकास बैंक र छ्यादी हाइड्रोपावर लिमिटेड रहेका छन् । मंगलवार कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूच वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।