आगामी बजेटका लागि उद्योग व्यवसायीको सुझाव यस्तो छ ?
काठमाडौं, १२ वैशाख । कोरोनाले प्रभावित भएको समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई विभिन्न सुझाव दिएको छ ।
आगामी बजेट तथा आर्थिक ऐनका सम्वन्धमा केन्द्रित रहँदै नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न सुझाव दिएको छ।
कोरोनाबाट प्रभावित लघु, घरेलु तथा साना उद्योग, पर्यटन, मनोरञ्जन, सार्वजनिक यातायात, चलचित्र उद्योग, हस्तकला, तयारी पोशाक, कपडा, निजी विद्यालय, व्युटि पार्लर, हेल्थ सेन्टर, संचार गृह, निर्माणधीन जलविद्युत आयोजना, निर्यातजन्य उद्योग, विज्ञापन सेवा, बैदेशिक रोजगार लगायत प्रभावित व्यवसायलाई सरकारद्वारा गत वर्ष घोषणा भएका वित्तीय सुविधा कम्तीमा दुई वर्ष थप्नुपर्ने व्यवसायीको माग छ।
कर्जाको पुनर्तालिकीकरण र पुर्नसंरचनाको अवधि थप एक वर्ष गर्न सुझाव दिएका छन्। लघु घरेलु र साना व्यवसायीलाई व्यवसाय निरन्तरता कर्जा लिन कठिन भइरहेको अवस्थामा प्रक्रिया सरलिकरण गरी एक वर्ष समय थप गर्नुपर्ने उद्योगी व्यवसायीको सुझाव छ।
स्वदेश तथा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत संकलन गर्ने र उनीहरु कुनै उद्यम गर्न चाहन्छन भने पूँजी र क्षमता अनुसार सहजीकरण स्थानीय तहले गर्नुपर्ने सुझावमा समेटिएको छ।