राष्ट्रिय प्रणालीमा थपियो ४२ मेगावाट विद्युत्
म्याग्दी, ३१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत बिहिबारदेखि केन्द्रीय प्रणालीमा विद्युत् पठाएको हो ।
आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीनवटै युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको जानकारी दिएको राससमा उल्लेख छ । । परीक्षण उत्पादन र सबस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली नारच्याङ आएको बताइएको छ ।
नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षणसफल भएको थियो । परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । पन्ध्र दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरू गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताएका छन् ।
पाँच अरब ६४ करोडलागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो ।