कोभिड संक्रमण दर घट्यो, मृत्यदर उस्तै
काठमाडौं, १८ जेठ । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या १०० भन्दा बढी नै छ ।
पछिल्ला साता लगातार संक्रमणमा कमी आएको भए पनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७ हजार ३८६ को ज्यान गएको छ ।
संक्रमण दरमा केही कमी देखिएको भए पनि अधिकांश संक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरू बताउँछन् ।
नेपालमा हालसम्म पाँच लाख ६१ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ । संक्रमितमध्ये चार लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ७९.७ प्रतिशत रहेको छ । हाल १ लाख ६ हजार ४७० संक्रमित आइसोलेनसमा छन् ।