बागमती प्रदेशको नीति तथा कार्यक्रम : ‘उत्पादन तथा रोजगार सृजनाका लागि सहुलियतपूर्ण ऋण लगानी’
हेटौंडा, २८ जेठ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷७९ नीति तथा कार्यक्रम सार्वजानिक गरेका छन् । प्रदेशसभाको बिहीवारको बैठकमा प्रस्तुत बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोभिड नियन्त्रण तथा व्यवस्थापन, उत्पादन तथा रोजगारी सृजना, पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखिएको छ ।
कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको प्रदेश प्रमुख प्रसाईले जानकारी दिए । कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न प्रदेश सरकार मातहत कार्यरत कर्मचारीहरूलाई प्रदेशभित्रका उच्च पहाडी र तल्लो हिमाली क्षेत्रको पर्यटन गन्तव्यमा भ्रमण जानका लागि उत्प्रेरणात्मक कार्यक्रम ल्याइने, कोरोना विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पु¥याउन आवश्यकता अनुसार ‘प्रदेश प्रमुख कोभिड १९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने लगायतका बुँदाहरू उल्लेख छन् ।
यस्तै कोभिड १९ को संकटबाट प्रभावित नागरिकको जीवनस्तरमा सुधार ल्याउन हरित उत्पादन, उत्थानशील र समावेशी विकास जस्ता असल अभ्यासको आन्तरिकीकरण गरी सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रम कार्यान्वयन गरिने, कोभिड १९ का कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न लक्षित वर्ग र क्षेत्र विशेषमा पुनरुत्थान र पुनर्भरण कार्यक्रम ल्याइने, बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने, यस कार्यक्रमको प्रभावकारिताको अध्ययन गरिने, कोभिड १९ ले उद्योग तथा पर्यटन क्षेत्रमा पारेको नकरात्मक असरलाई सम्बोधन गर्न ‘जहाँ प्रविधि, पूँजी र शीप, त्यहाँ युवाको हित’ भन्ने सोचसहित युवाहरूमा उद्यमशीलता र स्वरोजगार विकास गर्न प्रविधि हस्तान्तरण गरिने उल्लेख छ ।
सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने, कोभिड १९ माहामारीको कारण रोजगारी गुमाई आफ्नो गाउँ फर्किएका जनशक्तिलाई उद्यमशीलता विकास र रोजगारीका अवसरहरू सिर्जना गर्न ‘मेरो गाउँ, उद्यमसहित जिउने ठाउँ’ लाई अभियानको रूपमा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारीका कार्यक्रम अगाडि बढाइनेलगायतका कार्यक्रमहरु नीति कार्यक्रम भित्र समावेश गरिएका छन् ।
त्यस्तै कोरोनालगायत कारणबाट समयभित्र नवीकरण हुन नसकेका पर्यटन व्यवसाय तथा एजेन्सी, उद्योग एवम् व्यापारिक फर्महरूलाई एक पटकका लागि नवीकरण गर्ने व्यवस्था मिलाइने, कोभिड १९ बाट प्रभावित पर्यटन व्यवसायमा संलग्न श्रमिक तथा कामदारहरूलाई पर्यटन व्यवासायी लगायत अन्य सरोकारवालाहरूसँगको सहकार्यमा राहत र सहयोग प्रदान गरिने, कोरोनबाट प्रभावित भई विदेशबाट स्वदेश र सहरबाट गाउँ फर्किएका युवालाई लक्षित गरी कृषिमा आकर्षित गर्न स्थानीयस्तरमा नै रोजगारी सृजनाका लागि साझेदारीमा आधारित कृषि उत्पादनमूखी कार्यक्रम सञ्चालन गरिने, यसका लागि आवश्यक क्षमता विकाससम्बन्धी तालिम, प्राविधिक सीप र सहयोग उपलब्ध गराइने कुरा उल्लेख छ ।