Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र, आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र, आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन


काठमाडौं, २८ जेठ । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुनेगरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देशन गरेको हो ।

मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी गरिएको गृहप्रवक्ता जनकराज दाहाललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । मन्त्रालयले सरकारले सञ्चालन गरेका विकास आयोजना तोकिएको समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय, सहजिकरण एवं अनुगमन गरी विकास कार्यमा तीव्रता दिन पनि भनेको छ । यसरी काम गर्दा स्वास्थ्य सुरक्षा मापदण्डलाई भने पूर्ण कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनेको छ ।

नागरिकको जिउधनको सुरक्षा तथा जिल्लामा भयरहित वातावरणको सिर्जना गर्न शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै पनि गतिविधि हुन नदिन, जिल्लामा घट्न सक्ने घटनाको सम्बन्धमा पूर्वसूचना लिई सोही अनुसार सुरक्षा योजना बनाई कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

परिपत्रमा गृह मन्त्रालय र अन्तर्गतका सम्पूर्ण निजामती तथा प्रहरी कर्मचारीले उच्च मनोबलका साथ जनगुनासो नआउने गरी कानूनको पुर्णपालना गर्न, मानव अधिकारको प्रत्याभूति हुने गरी भ्रष्टाचारमा शून्य सहनशीलताको मर्म अनुरूप पारदर्शी रुपमा कार्य सम्पादन गर्न भनिएको छ । आगामी कात्तिक २६ र मंसिर ३ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित, निष्पक्ष र विश्वासिलो बनाउन सम्बद्ध पक्षबीच आवश्यक समन्वय गरी तत्काल निर्वाचन कार्ययोजना तयार गर्न पनि निर्देशन दिइएको छ ।

परिपत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख ६, १३ र १९ गते कोभिड–१९ प्रतिकार्यसँग सम्बन्धी निर्णय एवं मन्त्रालयबाट भएका कोरोनासँग सम्बन्धित निर्णय एवं निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्न पनि अनुरोध गरिएको छ । जिल्लास्थित अस्पताल एवं अक्सिजन प्लान्टमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन र कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारमा आवश्यक समन्वय गर्न पनि भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x