१ खर्ब ४८ अर्ब पुनर्कर्जा लगानीमा

काठमाडौं, ४ असार । पुनर्कर्जा कार्यविधि–२०७७ बमोजिम नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा वैशाख मसान्तसम्ममा १ खर्ब ४८ अर्ब ३५ करोड लगानीमा रहेको छ । केन्द्रीय बैंकका अनुसार थप चालू आवको १० महिनामा कुल ४८ हजार ८८७ ऋणीले उक्त परिमाणको पुनर्कर्जा प्राप्त गरेका हुन्
सो अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये ग्राहक मूल्यांकनमा आधारित ४५ अर्ब ७४ करोड, एकमुष्ट प्रदान गरिने (क, ख, ग वर्ग) ९२ अर्ब ३८ करोड र एकमुष्ट प्रदान गरिने (घ वर्ग)मा १० अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
यसैगरी समीक्षा अवधिमा ९५ हजार ८ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीलाई प्रवाह भएको १ खर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४६ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३ सय ५९ ऋणीको ३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ ।
राष्ट्र बैंकका अनुसार व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा वैशाख मसान्तसम्ममा ४८ करोड ६१ लाख स्वीकृत भएको छ ।