निर्यात व्यापारमा भटमासको तेलकै वर्चस्व
काठमाडौं, ११ असार । गतवर्षसम्म निर्यातको शीर्ष स्थानमा रहने गरेको पाम तेलमा भारतले प्रतिबन्ध लगाएपछि चालू आवको शुरुवातदेखि नै उक्त स्थान भटमासको तेलले ओगट्दै आएको छ । भटमासको तेलले चालू आवको ११ महिनामा पनि यो वर्चस्व कायमै राखेको छ
भन्सार विभागको तथ्यांक अनुसार चालू आवको ११ महिनामा ४२ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ बराबरको २४ करोड ६३ लाख ७६ हजार किलोभन्दा बढी भटमासको तेल निकासी भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५८.३८ प्रतिशतले बढी हो ।
गत आवको जेठ मसान्तसम्ममा ७६ लाख ३२ हजार किलो भटमासको तेल निकासी हुँदा १० अर्ब १२ करोड ८९ लाख रुपैयाँभन्दा बढीको व्यापार भएको भन्सार विभागको तथ्यांक छ ।
गत आवको ११ महिनामा निकासीको शीर्ष स्थानमा रहेको पाम आयलको निकासी भने यस वर्ष ह्वात्तै घटेको छ । सो अवधिमा यो जम्मा ४ लाख ४३ हजार रुपैयाँ बराबरको ३ हजार लिटर मात्र निकासी भएको छ ।