माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण अन्तिम चरणमा, सोमवारदेखि उत्पादन थाल्ने
काठमाडौं, १६ असार । बहुप्रतीक्षित राष्ट्रिय गौरवको जलविद्युत् आयोजना माथिल्लो तामाकोशीले आगामी सोमवार (असार २१) देखि विद्युत् उत्पादन शुरू गर्ने कार्यतालिका तय गरेको छ । आयोजनाले पहिलो चरणमा एउटा युनिटबाट ५६ मेगावाट विद्युत् परीक्षण उत्पादन गर्न लागेको हो । यसका लागि अधिकांश प्राविधिक परीक्षण सम्पन्न भइसकेको बताइएको छ ।
आयोजनाको ड्याप, डिस्यान्डर, इन्टेक लगायतका संरचनाका साथै हाइड्रोमेकानिकल उपकरणको सबै परीक्षण सम्पन्न भइसकेको र पहिलो युनिटको परीक्षण अन्तिम चरणमा पुगेकाले आयोजनाले विद्युत् उत्पादन शुरू गर्ने कार्यतालिका तय गरेको हो । हाल आयोजनाको दोस्रो युनिटको पनि परीक्षण भइरहेकाले यही असारभित्रै दुवै युनिटबाट गरी १५२ मेगावाट विद्युत् उत्पादन शुरू गर्ने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताएका छन् । यी दुई युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरू परीक्षण गर्दै विद्युत् उत्पादन गरिने उनको भनाइ छ ।
कुल ४५६ मेगावाट क्षमताको यो आयोजना निर्माण शुरू भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणाली जोडिँदै छ । यसका लागि गत आइतवारदेखि परीक्षण भइरहेको छ ।