युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले युनाइटडे फाइनान्स लिमिटेडलाई प्राप्ति गर्नका लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ । दुबै कम्पनीको असार ५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरे बमोजिम १ः०.३५ को शेयर स्वाप अनुपातमा प्राप्ति गर्न राष्ट्र बैंकले बुधवार अन्तिम स्वीकृति दिएको हो ।
नबिल बैंकले युनाइटेड फाइनान्सलाई १०० कित्ता शेयर बराबर ३५ कित्ता शेयर प्रदानगर्ने गरी प्राप्ति गर्न लागेको हो । यस आधारमा युनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुने शेयरधनीहरुले नबिल बैंकको ३५ कित्ता शेयर प्राप्त गर्नेछन् ।
हाल नबिल बैंकको चुक्तापूँजी १३ अर्ब ४८ करोड १ लाख ५९ हजार रुपैयाँ रहेको छ भने युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड ८ लाख ३४ हजार छ । प्राप्ती पश्चात नबिलको चुक्तापूँजी १४ अर्ब ५२ करोड ९ लाख ९३ हजार रुपैयाँ पुग्नेछ ।